दुइटी छोरी मात्र?

तलको लेख अहिलेसम्म मैले भोगेका र देखेका घटनाहरू समेटेर लेखिएको हो। हाम्रो नेपाली समाजमा विभिन्न किसिमको सोच भएका मान्छेहरू देख्न पाइन्छ। तीमध्ये, छोरा नै सबैभन्दा महत्त्वपूर्ण ठानेर छोरीलाई मान्छे नै नगन्ने, समाजका त्यस्ता मान्छेलाई लक्षित गरेर यो लेख लेखिएको छ। अझै पनि छोरालाई काखा र छोरीलाई पाखा गर्ने त्यस्ता मान्छेहरू र उनीहरूको सोचलाई यस लेखमा समावेश गरेकी छु


‘एउटी छोरी त छँदै छे, अब यो पाली चैँ छोरा नै पाउनू है ! त्यसपछि स्वर्ग जाने बाटो सजिलै खुल्छ ।’ मेरी आमाले दोस्रोपटक गर्भवती भएदेखि नै सधैँजसो यो ‘डिमान्ड’को सामना गर्नुहुन्थ्यो । धेरैजसो त म पनि यस्तो डिमान्डको साक्षी हुन्थेँ । त्यसताका थुप्रै मान्छेले आफूले भ्याएसम्मको ज्ञान दिए, यो औषधि खाए पक्का छोरै हुन्छ, यो भगवानलाई पूजा गर छोरा नै जन्मिन्छ सम्म भन्न भ्याए । कतिले त ४ महिना बितिसक्दा पनि ‘एबोर्सन’ नगरेका कारण छोरा भएकैले जन्माउन आँटेको अड्कलसमेत काटे । त्यतिबेला सधैँजसो अरूले छोरा पाऊ है भनेर ममीलाई भनिरहँदा म भने बहिनी नै होओस् भन्थेँ मनमनै ।

नभन्दै केही महिनापछि बहिनी नै जन्मिई । बहिनी जन्मिँदा मेरो मन त फुरुङ्ग थियो, एउटा नयाँ सानो साथी पाएकी थिएँ, तर ममीलाई भेट्न आउने र फोन गरेरै खबर लिनेहरूको भने अनेक किसिमका प्रतिक्रिया सुन्न पाइन्थ्यो । केहीले फेरि छोरी जन्मिई भन्ने सुन्दा एकअर्काको मुख हेराहेर गर्थे, कोही बाहिर खुसीसमेत देखिन्थे तर भित्रभित्रै ‘खुच्चिङ्’समेत भन्थे होला । भने कतिले त यसपालि पनि छोरी ! अब त दुइटी छोरीको बोझ उठाउनुपर्ने भयो भन्दै मुख बङ्ग्याउन थाल्थे । कतिले त फेरि पनि घिउभात खाने भाग्य रैछ भन्दै आमालाई व्यङ्ग्य पनि गर्थे । तर, मेरा बाबा र आमा भने यस्ता कुरालाई हाँसीहाँसी एउटा कानले सुनेर अर्को कानले उडाइदिनुहुन्थ्यो ।

बहिनी जन्मिएपछि बाबाआमालाई भन्दा पनि बढी ठुलाबडाले मलाई च्याप्न थाले । जहाँ भेट हुँदा पनि ममीलाई अझै भाइ पनि चाहिन्छ भनेर कर गर है भनेर कानेखुसी गर्न आउनेको कमी हुँदैनथ्यो । मैले मलाई त भाइ चाहिँदैन भन्दा होइन, एउटा भाइ त हुनैपर्छ भनेर म सानी मान्छेसँग ठुलाबडाले ठुला कुरा गर्थे । सबैले जे जस्तो भने पनि हाम्रो परिवारमा हामीलाई कहिले पनि केही नपुगेको आभास भएन । अरूले सुखी जीवनका लागि छोरा त चाहिन्छ नै भनेर अड्डी कस्दा पनि हाम्रो परिवारमा हामी दुई दिदीबहिनी नै बाबाआमाका सर्वस्व हौँ । उहाँहरूले कहिल्यै छोराको कमी महसुस गरेजस्तो अलिकति पनि लाग्दैन । बरु, उहाँहरू त झन् बढी खुसी हुनुहुन्छ जस्तो लाग्छ ।

तर, अझै पनि कहिलेकाहीँ नातेदार, आफन्तसित भेट हुँदा दुइटा सन्तान, त्यसमाथि दुवै छोरी, एउटा पनि छोरा नभएको, बुढाबुढी भएपछि कसले हेर्ला ? भन्ने ननिको प्रश्न हाम्रो कानसम्मै पनि पटकपटक आइपुग्छन् । तर, छोरा भएकै परिवारमा पनि सबैले बाआमालाई बुढेसकालमा राम्रै हेरचाह गरेका छन् त ? उनीहरूका ‘ननसेन्स’ प्रश्न सुन्दा आफ्ना लागि नरमाइलो नलागे पनि, उनीहरूको सोच देख्दा भने हाँसो उठ्छ ।

हाम्रो परिवारको मात्र नभएर यो छोरी मात्र भएको हरेक परिवारको कहानी हो । पहिलो सन्तान छोरी जन्मिँदा घरमा लक्ष्मी भित्रिएको भन्दै बधाई दिनेहरू दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि किन नाक खुम्च्याउँछन् ? किन दुइटी लक्ष्मी भित्रिएको भन्दै डबल बधाई दिन कन्जुस्याइँ गर्छन् ? दुइटी छोरी मात्र?  अब छोरा कहिले पाउने त भन्ने प्रश्नले सधैँ घोच्न तम्तयार बस्ने मान्छेको कमी छैन हाम्रो यो पितृसत्तात्मक समाजमा । मैले चिनेकामध्ये दुइटी छोरीपछि पनि छोराको चाहमा थप छोरी जन्माएर पनि छोरा जन्माएका परिवार धेरै छन् यहाँ । तर, दुइटा छोरापछि पनि छोरी पनि चाहिन्छ भनेर तेस्रो, चौथो सन्तान जन्माउने परिवारचाहिँ नगण्य छन् ।

नेपाली समाजमा पहिलेदेखि नै चलिआएको एउटा भनाइ छ, ‘छोरा हुन् या छोरी, माया बराबरी !’ तर, के साँच्चिकै समाजमा हरेक छोरा र छोरीले बराबर माया पाइरहेका छन् त ? कोखबाटै बाँच्नका लागि लड्न सुरु गर्नुपर्ने छोरीहरूले जन्मिइसकेपछि समाजसित लड्नुपर्ने युद्धको अन्त्य हुँदैन, थप बढ्छ ।

हाम्रो समाज पितृसत्तात्मक समाज हो । यहाँ हरेक कुरामा महिलालाई पछाडि राखेर आफू अगाडि दौडिने पुरुषको हालीमुहाली छ । छोरी गर्भमा आएको थाहा पाएपछि गर्भपतनतर्फ लाग्ने मान्छेको भिडबाट जोगिएर जन्मिएका थुप्रै छोरीहरू यत्तिकै कि त केही पुरुषको अधीनमा दबिएर बसेका देखिन्छन्, कि त केही राम्रो काम गरेर पुरुषभन्दा अगाडि उभिँदा पनि नानाभाँतीका लाञ्छनासहित वरिपरि खुट्टा तान्नेको भिड सल्बलाइरहेको देख्न पाइन्छ। कि त एकैचोटि गर्भमै मारिने, नत्र जन्मिएपछि वचनको तिखो बाणले रोपीरोपी ती छोरीहरूलाई पटकपटक मार्ने मान्छेको हाम्रो समाजमा कत्ति पनि कमी छैन ।

केही समयअघि मनुस्मृतिमा ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीहरू पुजिन्छन्, त्यहाँ देवता पनि रमाउँछन् भनेको मैले कतै पढेकी थिएँ । तर, के हाम्रो समाजले छोरी अर्थात् नारीलाई पूजा त परैको कुरा, छोरा अर्थात् पुरुषसरह मायासम्म दिएको छ त ? अस्ति भर्खर एउटा फेसबुक पोस्टमा हाउस वाइफको पुलिङ्गलाई के भनिन्छ भन्ने प्रश्नमा एउटा मान्छेले ‘जोइटिंग्रे’ भनी लेखेको देखेँ । एकछिन गम्भीर भएर सोचेँ, नारीले घरको काम गर्दा घरको शोभा बढ्छ भनेर सिकाउने हाम्रो समाजले किन त्यही काममा पुरुषले सघाउँदा त्यो घरको मान अझै चुलिन्छ भनेर सिकाउन सकेन ? किन घरमा छोराछोरी दुवै हुँदा, नानी लुगा धोऊ, नानी खाना बनाऊ भनियो तर नानी, तिमी लुगा धोऊ अनि बाबु, तिमी खाना बनाऊ भनिएन ?

कहिलेकाहीँ साथीभाइसँग यत्तिकै कुराकानी हुँदा भन्ने गरेको सुन्छु, मेरो भाइ त केही काम नै गर्दैन, ममीले पनि केही भन्नुहुन्न, मेरो दाइ त सधैँ कोठामै बसिरहन्छ, त्यसले त एउटा सिन्कोसमेत भाँच्दैन । यो सब सुन्दा मन खिन्न हुन्छ ।

अहिले क्यालेन्डरले वि.सं. २०७७ देखाए पनि, पढाइमा कैयौँले विद्यावारिधि गरे पनि, देशविदेश डुलेर अनेकौँ कुरा देखे पनि, आफूलाई जतिसुकै ‘मोडर्न’ भनेर विदेशीको जस्तो हर्कत देखाए पनि हाम्रो समाजमा कतिपयको सोच अझै पनि त्यही वि.सं. १९५० आसपासकै छ । सबैले त नगर्लान्, तर पढेलेखेर उच्च पदमा पुगेका मान्छेले पनि गर्भमा छोरी भएको थाहा पाएपछि गर्भपतन गरिरहेको समाजमा छ्याप्छ्याप्ती पाइन्छ । छोरा जन्माउन नसकेको ‘अपराध’ मा धेरै महिलाले आँसुको घुट्को पिएर सौतालाई स्वागत गर्नुपरेका उदाहरण पनि जताततै देखिन्छ । रहनसहन र वेशभूषाले निकै अगाडि बढिसकेको देखाउने हाम्रो समाज सोचाइमा भने अझै पनि त्यही पुरानो समाजमै रुमल्लिरहेको छ । छोरा जन्मिए स्वर्ग जान पाउने कल्पनामा रमाउने हाम्रो समाजले छोरी जन्मिएमा घर नै ‘स्वर्ग’ बन्छ भन्ने कहिले जान्ला खै ?


‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ’


Thank you for your taking out your time to read my article. This means a lot. Follow @anjaliutters to motivate me more if you haven’t already!!

31 thoughts on “दुइटी छोरी मात्र?

  1. Wow Anjali!!
    This brought me to tears.
    M also the 2nd daughter of my parents after my sister. I can relate to it.

    It happens in India too.
    Patriarchal society needs to change its thought process. It’s a long way but we can always try starting from ourselves.

    Liked by 3 people

  2. Pingback: Daughters only? – Translation – Anjaliutters

  3. Pingback: दुइटी छोरी मात्र? – Myworld

Leave a comment