कुन ग्रेड, कुन विषय ?

अहिले यो वर्षको कोरोना एसइइ को नतिजा आउने बेला हुन आँटेको छ। यो सब बीच ति हरेक परिवारमा अब +२ मा आफ्नो सन्तानलाई के पढाउने भन्ने तनाव भइरहेको देखिन्छ। त्यसैलाई मध्यनजर राखेर यो तलको लेख लेखिएको छ। आशा गर्छु, मनपराइदिनु हुनेछ!


रातको १२ बजे, अँध्यारो कोठा

आज त एसइईको नतिजा पनि प्रकाशित भयो । ‘ए’ ग्रेड आयो भनेर घरका सबैजना दंग हुनुहुन्छ । म पनि मेरो त्यत्रो १३ वर्षको स्कुलको पढाइ आखिर राम्रो नतिजासाथ सकिएकोमा खुसी नै छु, तैपनि हाँस्न भने फिटिक्कै मन छैन । एसइईको अन्तिम परीक्षा सकेर घर आएदेखि नै मामूबाबले अब त विज्ञान विषय लिएर पढ्नुपर्छ र पछि गएर भएसम्म डाक्टर नभए इन्जिनियर बन्नुपर्छ भन्न थाल्नुभएको थियो । भर्खर त परीक्षा सकियो, अहिले नै मैले केही सोचेको छैनँ, म पछि सोचेर भन्छु भनेर मामूबाबालाई त्यो वेला मैले जसोतसो टारेको थिएँ । अब त नतिजा पनि आइसक्यो । भोलिदेखि नै अब कलेज बुझ्न जाने कुरा गर्दै हुनुहुन्थ्यो बाबा । के गर्ने कसो गर्ने, मैले त केही मेसो नै पाइरहेको छैनँ ।

(कोल्टे फेर्दै) सानैदेखि साहित्यिक पुस्तक र लेखहरूमा बढी रुचि जाग्दै आयो । वेलावेलामा पत्रपत्रिकामा मेरा लेख रचना छापिएको कुरा पनि त थाहा छ नि मामूबाबालाई । मैले सानैदेखि मलाई यस्तो कुरामा रुचि छ, म त पछि गएर लेखक बन्छु पनि भनिरहन्थेँ । सायद, त्यो बेला मैले जिस्केर भनेको भन्ने सोच्नु भएछ मामूबाबाले । स्कुलमा सधैँ तिम्रो लक्ष्य के हो भनेर सोधिँदा गर्वसाथ लेखक बन्नु हो भन्थेँ, साथीभाई त हाँस्थे हाँस्थे, गुरुहरू पनि हाँस्नुहुन्थ्यो । त्यही पनि सानो बेलादेखिको लेखक बन्ने रहर कहिले पनि मरेन।

मैले राम्रो लेखेकै कारण कति धेरै इनाम पनि त पाइसकेँ । त्यही पनि मामूबाबा भने लेखक भनेको त कमाइ पनि नहुने इज्जत पनि नहुने काम हो, यसमा लागेर न आफ्नो भविष्य सुरक्षित हुन्छ न त परिवारको भन्नुहुन्छ ।
बाल्यावस्थादेखि नै भानुभक्त, लक्ष्मीप्रसाद, पारिजात, भूपी शेरचन, बुद्धिसागर, अमर न्यौपाने जस्ता लेखकका सिर्जना पढ्दै ठुलो भएँ । म त जहिल्यै उहाँहरुलाई सम्मानसाथ हेर्छु, अरूले त्यति नै इज्जत दिन्छन् उहाँहरूलाई । तैपनि, मामूबाबा भने यो पेशाले न इज्जत दिन्छ, न पैसा भनिरहनुहुन्छ, किन ?

मभन्दा ३ वर्ष ठुली सानिमाकी छोरीलाई पनि त म्यानेजमेन्ट पढ्ने रहर थियो नि । जबर्जस्ती म सक्दिनँ साइन्स भन्दाभन्दै पनि साइन्समा भर्ना गर्दिए । १२ मा ४ ओटा विषय लागेपछि अहिले त लाजले पढ्नै छोड्नुभयो । मलाई पनि विज्ञान भन्नेबित्तिकै टाउको दुखेर आउने कुरा त बाबामामूलाई थाहा छ त ! तैपनि, त्यही पढ्नुपर्छ किन अड्डी कसेर बस्नुभएको छ उहाँहरू ।

‘बि’ ग्रेड आउने तेरो साथी चाहिँ साइन्स पढ्ने अनि तँ ‘ए’ आउनेचाहिँ ‘आर्ट्स’ पढ्छु भन्दा लाज हुँदैन भन्नुहुन्छ । अब पछि गएर पढ्न नसकेर फेल हुनुभन्दा त बरु अहिले नै त्यो विषय नरोज्दा केही बिग्रिन्न भन्दा झन्डै बाबाको चड्कन भेटिनँ । मैले गलत नै के भनेकी थिएँ र ? मलाई गारो लाग्ने, मलाई रुचि नै नभएको विषयभन्दा त मलाई मन पर्ने, मलाई इच्छा भएको विषय पढ्दा म धेरै खुसी हुन्छु र मैले राम्रो पनि गर्न सक्छु भनेर बुझाउन खोजेको पो थिएँ त ।

सानैदेखि ठुलो भएर डाक्टर बन्नू, इन्जिनियर बन्नू भनेर दसैँमा टीका लाउँदा आशीर्वाद दिने गरेका मान्छेलाई यतिखेर भेटेँ भने किन लेखक बन्नू, शिक्षक बन्नु, ड्राइभर बन्नू, जे मन लाग्छ त्यही बन्नू भन्नुभएन भनी सोध्न मन छ ।

(घडी हेर्दै, रातको २ बजे)

हेर, २ पनि बजिसकेछ । यदि मेरो दिमागमा खेलेका जति सबै कुरा मैले मामूबुबालाई भन्नसक्ने भए भोलि म साइन्स कलेज हेर्न नगएर आर्ट्स कलेज हेर्न जाने थिएँ । तर, यसरी नभनेर आफ्नो जिन्दगी र मामूबाबाको पैसा सक्काउनुभन्दा त जति दिन लागे पनि बरु मामूबाबालाई सम्झाउनैपर्छ । के थाहा, मैले राम्ररी सम्झाएँ भने मानी पो हाल्नु हुन्छ कि ?

ल अब भोलि सबेरै उठेर मामूबाबा दुवैलाई राखेर मलाई डाक्टर इन्जिनियर बन्नु छैन भनेर सम्झाउनुपर्यो । हेरौँ कस्तो प्रतिक्रिया आउँदो रहेछ ।
(मोबाइलमा अलार्म राखेर, ऊ कोल्टे फेरेर सुत्छ)


माथिको मनोवाद एउटा काल्पनिक घटना हो । तर, खोजिपस्ने हो भने यो मनोवाद हामीमध्ये धेरैजनाको जीवनसँग मेल खान सक्छ । हामी सबैलाई सानैदेखि केही न केही बन्ने रहर हुन्छ । स्कुल सकिएपछि हामीलाई भविष्यमा कुनै एउटा पेसामा लाग्न कुनै एउटा संकाय छानेर त्यही पढ्ने निधो गर्नुपर्ने हुन्छ । त्यो विषय छनोट गर्ने बेलामा माथिको मनोवादमा भनिएजस्तै अनगन्ती कुराहरू धेरैजसो विद्यार्थीको मनमा खेल्ने गरेको पाइन्छ ।

डाक्टर, इन्जिनियर बन्नै हुँदैन भन्ने मेरो धारणा होइन, तर जो विद्यार्थी साइन्स भनेपछि दस कोस पर भाग्छ, जसलाई साइन्समा कुनै रुचि नै छैन, उसलाई केवल परीक्षामा ‘ए’ ग्रेड ल्याएकै भरमा साइन्समा भर्ना गरिन्छ । विद्यार्थीको रुचि केमा छ, उसलाई के बन्न मन छ भन्दा पनि उसले प्राप्त गरेको अंकले कुन विषय पढ्न सुहाउँछ भन्दै त्यही विषयमा विद्यार्थीलाई जबर्जस्ती भर्ना गरिदिनेको केही कमी छैन यहाँ ।

अचेल जाँचमा आउने ग्रेडका आधारमा कुन विषय पढ्ने निधो गरिने चलनले धेरै विद्यार्थीको जीवन अन्योलमा परेको देखिन्छ । सकी नसकी साइन्स पढ्यो, झुन्डेर पास गर्यो, अब +२ पछि के गर्ने त भन्ने अर्को तनाब सृजना हुन्छ ! छोरा या छोरीले साइन्स पढ्छ या पढ्छे भन्दा आफ्नो सान नै ठुलो हुने जस्तो सोच्ने बाबुआमाको केही कमी छैन यहाँ । तर, त्यो सबबिच त्यो विद्यार्थीले मन नलागी नलागी पढ्नुपर्दा उसले जीवनमा कति धेरै तनाव झेल्नुपर्ला ? के यसबारे कसैले कुनै हेक्का राखेको छ ?

परिवार त परिवार, कलेजहरू समेत यो विषयमा चोखा छैनन् । तपाईंको छोरा या छोरीको त ‘ए’ आएको रहेछ, साइन्स नै पढ्ने होला, हाम्रोमा ल्याउनुस्, हामी पूरै छुट दिन्छौँ भन्ने अनगन्ती कलेज छन् बजारमा ।

के राम्रो ग्रेड ल्याउने विद्यार्थीले म्यानेजमेन्ट, आर्टस, एजुकेसन या ल पढ्न हुँदैन हो ? अनि राम्रो ग्रेड ल्याउनेले म्यानेजमेन्ट नपढ्ने हो भने कसरी देशले राम्रा व्यवस्थापक पाउला भोलि ? राम्रो ग्रेड ल्याउनेले आर्टस या एजुकेसन नपढ्ने हो भने कसरी देशले राम्रा निजामती कर्मचारीदेखि राम्रा शिक्षक पाउला ? के यतातर्फ सबैले गहिरिएर सोच्नुपर्दैन ?

अनि के, एक वर्षसम्म रटाएर, घोकाएर, त्यही कुरा बारम्बार पढाएर ‘ए’ ग्रेड ल्याउन सफल बनाइएको विद्यार्थी त्यही ए ग्रेड आएकै आधारमा साइन्स पढ्न लायक हुन्छ ? साइन्स छोडौँ, अरू कुनै विषय आफ्नो इच्छाभन्दा पर गई केवल ग्रेडकै आधारमा पढ्न लायक हुन्छ र?

यसतर्फ सबैले एकचोटि गहिरिएर सोच्नपर्ने वेला भएको छ । अबको केही समयमा यसपालीको एसइइको नतिजा फल प्रकाशित हुनेछ, त्यसैले अहिलेको समयमा पनि यसबारे नसोचे आखिर कहिले सोच्ने ?


Life is a matter of choices, And Every choice you make, Makes you!

– John.C.Maxwell

Thank you for your taking out your time to read my article. This means a lot. Follow @anjaliutters to motivate me more if you haven’t already!! 

21 thoughts on “कुन ग्रेड, कुन विषय ?

  1. Pingback: Grades and Subject! – Anjaliutters

Leave a comment