रीति कि कुरीति?

जीवनको २१ वर्षसम्म धेरै कुराको बारेमा अनुभव गर्ने अवसर पाइयो। थुप्रै थरीका मान्छेसँग संगत गर्ने मौका पनि पाइयो। जतिजति मान्छेहरुसँग संगत गरियो, त्यति नै आफू रहिआएको समाजदेखि एक किसिमको वैराग्य उत्पन्न हुन थाल्यो। जतिजति कुरा देख्दै गरियो, त्यति नै यस समाजको हरेक कुना काप्चामा रहिआएको कुरीतिहरु देख्न थालेँ। प्रश्न सधैं उठाउन मन लाग्यो, तर सधैं समाजले के भन्ला भन्ने बुजो लगाइदिएर चुप लगाइयो। तर, यो मौनताले अहिलेआफैं भित्र एउटा युद्ध चलाइदिएको छ, आफैं भित्र एउटा द्वन्द सुरु भएको छ। त्यही मन भित्रको द्वन्द्वका केही अंश तल समावेश छन्। मन परेपनि – नपरेपनि पढिदिनुहोला!


मैले कतै पढेकी थिएँ, हिन्दूहरूको सर्वोच्च धार्मिक ग्रन्थ वेदमा कतै पनि छुवाछुत, जातीय विभाजन या मानव मानवबिच विभेद छैन । बिस्तारै मानिसले गर्ने कामका आधारमा उनीहरूको जात विभाजन भयो र कालान्तरमा बलिया र टाठाबाठाले यही विभाजनलाई आधार मानेर ठुलो जात, सानो जात छुन हुने जात र छुन नहुने जात भनी कमजोरमाथि शासन गर्न जातीय व्यवस्था लादेका हुन् ।

नेपालमा मनुस्मृतिको रचना कालदेखि नै जातीय विभाजन र विभेद सुरु भयो या जयस्थिति मल्लले गरेको जात तथा वर्ग विभाजन यता यो समस्या समाजमा सङ्क्रमित हुँदै आयो, आफ्नो अध्ययनको कमीका कारण म ठोकुवा गरेर भन्न सक्दिनँ । तर, विगतमा कामका आधारमा सजिलोका लागि छुट्याइएको जातीय विभाजनलाई अहिले हामीले ‘परिमार्जन’ गर्दै त्यसको नाकमुख नै परिवर्तन गरिदिएका छौँ । तर, के अझै पनि समाजमा ‘रीति’बाट ‘कुरीति’ मा निकै अघि नै परिवर्तन भइसकेका त्यस्ता थोत्रा चलन र विश्वासलाई हामीले अझै च्यापिरहनुपर्ने हो ?

सबैभन्दा पहिला समाजमा एकदमै गहिरो किसिमले असर पारिरहेको जातभातको कुरा गरौँ । धेरै अघिदेखि नै हाम्रो समाजमा अन्तर्जातीय विवाहको प्रचलन चलिआएको छ । तर धेरैजसो अन्तर्जातीय विवाहपछि एउटा सिंगो परिवार थुप्रै टुक्रामा टुक्रिएको समाजमा प्रशस्त उदाहरण पाइन्छन् । आफ्नै बाबुआमाले आफ्ना सन्तानलाई केवल अर्को जातका केटा वा केटीसँग विवाह गरेकै कारण नाता नै तोडेका प्रशस्त उदाहरण छन् ।

हामीलाई सानैदेखि कक्षामा हरेक जात धर्म एउटै हुन्, हामी सबै मानव हौँ, हामी सबै मानवतालाई मान्छौँ, सबैको रगत रातो हुन्छ भनेर पढाइयो । तर, त्यही कुरा पढाउने मान्छेधरी आफ्ना सन्तानको अर्को जातसँग विवाह गर्दिनुपर्ने भए दशकोस पर भाग्छन् । फलानाको छोरा या छोरीले यस्तो प्रगति गरेछ या गरिछे भन्ने सुन्दा डाह गर्ने समाजमा कसैले त्यस्तो अन्तर्जातीय विवाह गरेको सुन्न पाए भने खुच्चिङ भन्दै खिसी गर्ने जमातको कमी छैन यहाँ । यहाँसम्म कि कसैले त्यस्तो विवाहलाई खुला मनले स्विकारे समाजका अरू त्यस्ता मान्छेले त्यस परिवारसँग पानी नै बार्नेसम्मको कुरा पनि समाजमा छ्याप्छ्याप्ती देख्न पाइन्छ । ‘अनर किलिङ’ को अपराधसम्म वेलाबखतमा सुनिन्छ हाम्रो समाजमा । अझै पनि कति परिवारले आफ्नो बद्नामी भएको सोचेर आफ्ना सन्तान र उसको साथीको समेत हत्या गरिदिएका घटना सुन्न पाइन्छ । आफ्ना सन्तानभन्दा इज्जत र समाज प्यारो हो भन्ने सिकाउने यस समाजले हामीबाट हाम्रो आफ्नै खुसी खोसिसकेको कसैले चाल पाएका छैनन् ।

जातको कुरा विवाहमा मात्र होइन, अझै पनि आफ्नो सन्तान कुनै अरु (समाजले तोकेको तल्लो जातको) मान्छेसँग साथी बन्छ र घरमा लिएर आउँछ भने उसलाई निकै भिन्न व्यवहार गर्ने यस समाजमा त्यस्ता कति धेरै घरपरिवार छन् ।

यसरी मानवताको हत्या गर्दै जातभात जोगाएर समाजका लागि योगदान दिइरहेको छु भन्ने मान्छेलाई मेरो भन्नु केही छैन । मात्र यति भन्न चाहन्छु, यसले समाजलाई झन्भन्दा झन् दुर्गतिको कसिलो साङ्लामा जकडिरहेको छ र यसले कुनै न कुनै दिन यही जातभातकै नाममा समाजमा भयानक दुर्घटना निम्त्याउने छ । त्यस दुर्घटनाको साक्षी हुनुअघि नै यसबारे केही विचार गरे सायद केही हदसम्म यसको जोखिम न्यूनीकरण गर्न सकिन्छ होला ।

अब कुरा गरौँ हाम्रो नेपाली समाजको अर्को चिरपरिचित बानीबारे । हामी त्यस्तो समाजमा बस्छौँ, जहाँ हामीलाई आफ्नो प्रगतिले भन्दा अरूको दुर्गतिले खुसी दिन्छ, जहाँ हामीलाई आफ्नो दुर्गतिले भन्दा अरूको प्रगतिले बढी पीडा दिन्छ । जहाँ दिनभरि अरूको कुरा काटेर अन्त्यमा हामीलाई त बालै भएन नि, हामीलाई अर्काको के चासो भन्दै आफ्नो ‘महावाणी’ टुंग्याउँछौँ । जहाँ हामी आफ्नोभन्दा बढी छिमेकी र आफन्तको जिन्दगीमा के भइरहेको छ भनेर चासो दिन्छौँ र फलानाले यस्तो गरेछ, यस्तो भएछ भनेर अरूलाई सुनाउन पाउँदा गर्व महसुस गर्छौँ ।

आफ्नो भन्दा पनि बढी अरूको चासो गर्ने नेपालीको बानीले थुप्रै नेपालीको घर बिगारेको छ, परिवार परिवारबीच मनमुटाव बढेको पाइन्छ, एउटै परिवार पनि दसौँ टुक्रामा टुक्रिएको भेटिन्छ । अरूको कुरा आँखा चिम्लिएर विश्वास गर्ने बानीले परिवार परिवारबिचमै पनि अन्तरद्वन्द्व भइरहेको पाइन्छ । विभिन्न मानिसबीच यस्तै अरूको चासो गर्ने बानीले धेरै फाटो बढिरहेको पाइन्छ । मलाई त अरूको कुरा काट्न मन नि लाग्दैन र काट्दा नि काट्दिनँ भन्दै जन्मेदेखि अहिलेसम्मको कुरा काटेर भ्याउने मान्छेले भरिएको हाम्रो समाजले खोइ कहिले आफ्नो कुरामा मात्र ध्यान दिएर अघि बढ्न सिक्ला ?

हाम्रो समाजमा त्यस्ता मानिस पनि छन्, जसले छोरो रोजेर छोरी त्याग्दा किञ्चित् दुःख मान्दैनन् । छोरालाई ‘मर्द’ भएर रुन हुन्न भन्दै आइमाई मात्र रुन्छन् भनेर छोरीलाई सानैदेखि आफू कमजोर भएको अनुभूत गराउने मानिस पनि यही समाजमा छन् ।

खोतल्दै जाने हो भने हाम्रो समाज यस्ता अनेक कुरीति र गलत सोच च्यापेर हुर्केको छ । आफ्नो मनमा लागेको कुरा गर्नदेखि, आफूलाई लगाउन मन लागेको लुगा लगाउनसमेत समाजले के भन्ला र के सोच्ला भनेर १० चोटि सोच्न बाध्य बनाउने समाजबाट कसरी नयाँ सोचको विकास हुन्छ भनेर कल्पना गर्नु खै ? अनि, यस्तो समाजमा कसरी आशाको नयाँ किरण भेट्टाउनु ?

वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेकाभन्दा कहीँकतै सुनेका बकम्फुसे कुरामा विश्वास गर्ने मान्छेको बिचमा बस्छौँ हामी । मान्छेलाई मान्छे बन्न सिकाउनुभन्दा पनि पहिले लिंग, जात, धर्म या वर्गमा विभाजन गरेर त्यहीअनुरूप जीवन जिउन सिकाउने समाजबाट ठुलो कुरा के नै आशा गर्न सकिन्छ र ?


हेर्दै जाने हो भने, हाम्रो समाजमा परापूर्व कालदेखि नै चल्दै आएका थुप्रै रीतिरिवाज आजको समाजसम्म आइपुग्नुभन्दा निकै पहिला नै रीतिबाट कुरीतिमा बद्लिसकेका छन् । आफ्नो सुलभताअनुसार बदलिँदै आएका यस्ता रीति कुनवेला कुरीतिमा बद्लिए कसैले थाहा पाएनन् । कसैले पनि केही चलन चलाउँदा वा सुरु गर्दा आफू ठुलो पदमा रहन्छु र अरूलाई दल्छु भनेर बनाएको हुन्न । इतिहासका पाना पल्टाउने हो भने अहिले हामीले आँखा चिम्म गरेर अन्धभक्तिसाथ मानिरहेका र प्रयोग गरिरहेका थुप्रै त्यस्ता कुरितीको सुरुवात निकै स्वच्छ सोच र सकारात्मक चिन्तनका साथ भएको थियो । तर, अहिलेसम्म आउँदा मान्छे मान्छेबीच बढ्दै गएको उनीहरूको धन, पढाइ, कामको घमण्ड र त्यसको अहम्ले मानिसलाई त्यस कुरीतिलाई आफ्नै हिसाबले मोड्ने र त्यसलाई आफ्नै हिसाबले आकार दिने छूट दिएको छ ।

जहाँ अहिलेका युवा यसलाई परिवर्तन गर्न अघि बढेका छन्, यसलाई सुधार्नुपर्छ, यसरी हुँदैन भनेर यसका लागि लड्न पनि तयार छन् त्यहीँ त्यही कुरीतिलाई यस मोडसम्म ल्याउन सफल समाजको डर देखाइन्छ, आफ्नै घरबाट त्यसका लागि रोकिन्छ र त्यही समाजले के भन्ला भन्ने डरले सबैलाई बाँधेर राखिन्छ । के आज जेलाई रीतिको खोल ओढाएर अँगाल्न बाध्य पारिँदै छ, तिनै कुरीतिको पर्खाल भत्काउन अर्को कुनै आन्दोलनको आँधीबेहरीको प्रतीक्षा गर्नुपर्ने हो ?


Translation will be uploaded on Monday!


It’s easy to stand in the crowd but it takes courage to stand alone!

– Mahatma Gandhi

Thank you for your taking out your time to read my article. This means a lot. Follow @anjaliutters to motivate me more if you haven’t already!!

36 thoughts on “रीति कि कुरीति?

  1. Pingback: Good/Evil traditions – Translation | Anjaliutters

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s