विकास र जनताको साइनो

धेरै लामो समयको अन्तरालपछि नेपालीमै केही लेख्ने रहर भयो। अस्तिको शनिबार म मेरो बाबासँग कोसी पारीको मादन कुडारि गाउँ गएकी थिएँ। त्यहाँबाट फर्किदा खेरी मेरो मनमा चलेको कुराहरू यत्तिकै टिप्ने क्रममा यो लेख तयार भएको हो। आशा छ हजुरहरुले मन पराइदिनु हुनेछ।

साथै यो लेखको सुरुमा राखिएको तस्वीर अरु नै कुनै गाउँको हो है!


कार्तिकको बिहानीपखको चिसो सिरेटोले हानिरहेको वेला म भने खुसीले गद्गद् हुँदै सबेरै तयार भएँ घरबाट बाहिर निस्किन । अरू दिन कनिकुथी ८ बजेतिर उठ्ने म, त्यो दिन भने सबेरै उठेर तयार भई आफ्नो त्यस दिनको गन्तव्य पुग्नका लागि गाडी चढ्न लागेँ माछापोखरीतिर । राजधानीबाट नजिकै भए पनि काभ्रेको कोसीपारीका गाउँ निकै दुर्गम बस्ती जस्ता छन् रे भन्ने सुन्दै आएकी थिएँ । त्यसैले म एक दिनकै लागि भए पनि कोसीपारीको जीवन बुझ्न त्यता जान लागेकी थिएँ । बिहान ८ बजे माछापोखरीबाट गाडी चढेपछि बाबा र म लैनचौर, माइतीघर, बानेश्वर हुँदै कोटेश्वर पुग्यौँ । हामी पहिलोचोटि त्यता जाँदै थियौँ, त्यसैले हामीले पथप्रदर्शकका रूपमा स्थानीय गोपाल चौलागाईंको साथ पाएका थियौँ । कोटेश्वरबाट उहाँलाई लिएपछि हाम्रो कोसीपारीको यात्रा सुरु भयो । ठिमी, साँगा, बनेपा, धुलिखेल हुँदै हामी पाँचखाल तिनपिप्लेबाट अरनिको राजमार्ग छोडेर ओरालो लाग्यौँ ।

ठाउँ नौलो होस् या परिचित, घुम्न जाँदा वरपरको वातावरण र स्थानीय परिवेशबारे चासो राख्नु मेरो स्वभाव नै हो । त्यसैले, चारैतिरका अग्ला डाँडाबिच फैलिएको पाँचखाल नगरपालिकाका केही बस्ती नियाल्दै हामी अघि बढ्यौँ । पाँचखालका समथर फाँटमा टनेलभित्र तरकारी खेती मौलाइरहेको देखिन्थ्यो । तिनपिप्लेबाट तल ओर्लेलगत्तै केही दूरीमा स्कुलका भव्य भवन देखिन्थे । ठूला क्षेत्रफल ओगटेर बनाइएका त्यस्ता विद्यालय देख्दा काठमाडौँमै जन्मीहुर्केकी म सानो कुचुक्क परेको ठाउँमा कोचिएर चलिरहेका काठमाडौँका स्कुलहरू सम्झिँदै थिएँ । पाँचखाल नगरपालिकापछि तेमाल गाउँपालिका हुँदै कोसीपारी पुगुन्जेल विद्यालयका भव्य भवन अरू पनि देखिए । आसपास बाक्लो बस्ती खासै नदेखिए पनि विद्यालय भवन भने भव्य देखिन्थे ।

पहिले कोसीपारीका बस्ती निकै दुर्गम थिए रे ! न कतैबाट त्यहाँ विकास पुग्ने आश थियो न त त्यहाँ कसैले विकास लिएर जान सक्ने विश्वास ! तामाङ जातिको बाहुल्य भएको त्यस बस्तीमा विकास पुगेको धेरै भएको रहेनछ । बाटोघाटो अरू गाउँपाखा जाने जस्तै कच्ची भए पनि त्यहाँ अहिले बन्दै गरेको लोकमार्गले दुर्गमलाई सुगम बनाइदिएको रहेछ । पहिले पहिले दुर्गम जस्ता कोसीपारीको बस्तीका बासिन्दालाई अहिले भने अनेकौँ सडक खुलेका रहेछन् । कोसीको पुल तरेर पारी पुगेपछि केहीबेर सुनसान घुमाउरो उकालो सडक पार गरेपछि हामीले मध्यपहाडी लोकमार्ग भेट्यौँ । काठमाडौँबाट त्यति नजिक भए पनि दुर्गम बस्तीको दर्जा पाएको कोसीपारीका गाउँमा अहिले भने लोकमार्गले नयाँ चमक थपिदिएको महसुस भयो । कसैले नसोचेको त्यस्तो दुर्गम बस्तीमा राम्ररी ग्राभेल गरिएको फराकिलो सडकमा गुड्न पाउँदा एक दिन घुम्न गएकी मलाई त खुसी लागिरहेको थियो भने त्यहाँका स्थानीय बासिन्दा झन् कति खुसी हुँदा हुन् !

अलिकति अगाडि पुगेपछि हामी फेरि हाम्रो त्यस दिनको गन्तव्य मादन कुडारी गाउँ पुग्न लोकमार्ग छोडेर कच्ची सडक उकालो लाग्यौँ । त्यहाँबाट उकालो लाग्दा पनि बेला बखतमा विभिन्न गाउँ भेटिन्थे । र, तिनै गाउँबिच एक भव्य सरकारी विद्यालय भवन पनि देखिन्थ्यो । करिब आधा घन्टापछि हामी चौँरी–देउराली गाउँपालिकाको कात्तिके देउराली पुग्यौँ । त्यहाँ पुग्दा त मलाई कुनै बन्दै गरेको व्यवस्थित सहर बजारमा पुगेको जस्तो महसुस भयो । ठुलो बजार, त्यसमाथि बन्दै गरेका पिलरवाला अग्लाअग्ला घर देख्दा आफू सहरमै भएको जस्तो लाग्थ्यो । टिपरले निर्माणका सामग्री ओसारिरहेका थिए । काठमाडौँको मुख्य बजारमा भन्दा व्यस्त त्यहाँका वर्कसपमा लाइन लगाएर राखिएका मोटरसाइकल टन्नै देखिन्थे । सबैभन्दा अचम्म त मलाई त्यहाँका भव्य र सुन्दर विद्यालय भवन देख्दा लागिरहेको थियो । विदेशी दाताहरूले बनाइदिएका ती भवन कुनै तारे होटेलभन्दा कम देखिन्नथे । स्नातक तहसम्म पढाइ हुने ती भव्य भवनमा पढ्ने विद्यार्थी भने निकै कम छन् भन्ने सुन्दा मन अलि अमिलो भयो । त्यहाँबाट लगभग १५ मिनेट टाढा रहेको कुडारी गाउँतर्फ जाँदा भने अलि भिन्न गाउँघरका जस्ता तर भव्य घरहरू देखिए । त्यहाँ पुगेपछि बल्ल गाउँ पुगेको आभास भइरहेको थियो । तर, वरपर नियालेर हेर्दा लगभग हरेक ३ घरमा एक घरमा चाहिँ भोटेताल्चा झुन्ड्याएको देखिन्थ्यो । आँगनभरि झार र सागपात उम्रिएको, चिटिक्क परेको घर भए पनि त्यहाँ बस्ने मानिस नदेख्दा भने मन कटक्क भयो । निराश मनले हामी कुडारी गाउँतर्फ लाग्यौँ । त्यहाँ पनि अवस्था खासै फरक थिएन । घरहरू हेर्दा बाक्लो जनसंख्या होला जस्तो लाग्ने कुडारी गाउँमा घरबराबरका मान्छे पनि नरहेको भान भयो । त्यहीँका स्थानीय बासिन्दा तथा माविका एक सेवानिवृत्त शिक्षकसँग कुरा गर्दा उहाँले त्यहाँ युवावस्थाका मान्छे विरलै भेटिने बताउनुभयो । परिवारका जान्नेबुझ्ने कामको खोजीमा काठमाडौँ पस्ने र उनीहरूसँगै तिनका परिवार पनि सहरतिरै पलायन क्रम बढेकाले अहिले गाउँमा धेरैजसो घरमा ताल्चा मारेर राख्नुपरेको गुनासो उहाँको थियो । खुला रहेका अधिकांश घर पनि वृद्धवृद्धाहरूले रुँगिरहेको हुनाले मात्र खुला रहेको उहाँले बताउनुभयो । त्यहाँ पहिले ३—४ ओटा प्रावि सञ्चालनमा रहेका भए पनि अहिले सबैलाई गाभेर एउटै बनाइएको रहेछ । तर, विद्यार्थीको सङ्ख्या भने निकै न्यून रहेको पनि उहाँले बताउनुभयो । हरेक वर्ष शिशु कक्षामा मुस्किलले १—२ जना नयाँ विद्यार्थी भर्ना हुने भएकाले गाउँको हाई स्कुलमा हाल २५० हाराहारीमात्र विद्यार्थी रहेको उहाँले जानकारी गराउनुभयो ।

सोही दिन साँझ काठमाडौँ फर्किने योजना रहेको हुनाले हामी त्यहाँबाट २ बजेतिर बिदा भयौँ, तर बाटाभरि मनमा भने त्यहाँ देखेका र अरूले सुनाएका कुरा मात्र दौडादौड गरिरहेका थिए । काठमाडौँबाट मुस्किलले ३ घन्टा पनि नलाग्ने काभ्रेको कोसीपारी रहेका गाउँ पहिले निकै दुर्गम गाउँका रूपमा चिनिन्थे । न सडकको सुविधा, न राम्रो विद्यालय ! शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक सुविधाबाट वञ्चित थियो कोसीपारी । मान्छे त्यस समय पनि प्रगति त चाहन्थे होला, तर नेपालको राजधानी काठमाडौँबाट नजिकै रहेर पनि त्यहाँ यस्ता सुविधा पुग्न निकै समय लाग्यो । कति मान्छेले आफ्नो सम्पूर्ण जिन्दगी त्यही सुविधाकै आशमा बिताए । आधुनिक विकासका सुविधा देख्ने रहरसाथ बाँचेका कतिले त यत्तिकै जीवन गुमाए होला । अहिले जब गाउँमा पहिलेको तुलनामा धेरै सुविधा पुगेको छ, भौतिक विकास भएको छ, अनगिन्ती अवसर सृजना भएको छ, तब त्यहाँ सो सुविधा उपभोग गर्ने मान्छेको कमी छ । पूरै देशको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा बोकेको सरकार अझै पनि आफ्नो विकास कसरी गर्ने भन्ने ध्याउन्नमै देखिन्छ । देशमा ७५ जिल्लाबाट ७७ जिल्ला भइसक्दा पनि सरकारले राजधानीसित सिमाना जोडिएको छिमेकी जिल्लामा समेत पर्याप्त ध्यान पुर्याउन सकिरहेको छैन । मान्छे अझै पनि सुविधा र सहजताको आश गर्दै काठमाडौँ पसिरहेका छन् । सरकारसँग न राजधानीमै उनीहरूलाई रोजगारी दिएर सुविधायुक्त जीवन जिउन दिने कुनै योजना या क्षमता छ न त न त उनीहरूकै गृहजिल्ला या गाउँघरमै विकास पुर्याउने इच्छाशक्ति या योजना नै छ । कोसीपारि त एउटा उदाहरण मात्र हो, त्यस्ता अनेकौँ गाउँबस्ती छन्, जहाँका मान्छेहरू आज पनिसामान्य भौतिक सुविधाका लागि आफू जन्मीहुर्केको थातथलो छाडेर राजधानी या कुनै विकसित सहर पस्दै छन् । सरकारले न त्यहाँ अत्यावश्यक सुविधा पुर्याउन सकेको छ, न त त्यहाँका मान्छेमा कुनै विश्वास नै जगाउन सकेको छ । गाउँबस्तीभरि मान्छे हुँदा नपुगेको भौतिक विकास अहिले मान्छे रित्तिँदै गएपछि बिस्तारै पुग्दै त छ । तर, त्यसको उपभोग गर्ने मानिस नै नभए ती विकास, सुविधा या सेवाको के अर्थ होला र ?

पछिल्लो समय त देश सङ्घीयतामा गएको छ । स्थानीय, प्रदेश र सङ्घीय गरी तीन तहका सरकार बनेका छन् । गाउँगाउँमै सिंहदरबार पुर्याइएको दाबी पनि सुनिन्छ । विकासका नाममा मोटो बजेट छुट्याइएका खबर पनि आउँछन् । तर, अझै पनि प्रत्येक तहका सरकारलाई अन्धाधुन्ध सडक खनेर डाँडापाखा भत्काउनु नै विकास हो भन्ने लागिरहेको छ । जनता पनि त्यसैमा भुलिरहेका छन् । स्थानीय सरकारले आफ्नै आँखाअगाडि बाँझिएका लाखौँ हेक्टर कृषियोग्य जमिन देखिरहेका छैनन् । त्यो जमिनसित त्यहाँका जनताको नाता जोड्न उनीहरूले बजेट परिचालन गर्न सकेका छैनन् । कृषिलाई उद्यमका रूपमा विकास गरी युवालाई गाउँघरमा आकर्षित गर्न सकेका छैनन् । कि सहर पस्ने कि त विदेशी भूमिमा पुगी पसिना बगाउने युवालाई गाउँघरमा फर्काउन नसकेसम्म गाउँगाउँ पुगेका सडकको अर्थ हुँदैन । गाउँघरका बालबालिकाले आफ्नै आँगनमा बनेका भव्य विद्यालय भवनमा गुणस्तरीय शिक्षा पाउन नसकेसम्म अन्य कुनै पनि भौतिक विकास, सडक, विद्यालय भवन, स्वास्थ्यचौकी भवन आदि जेजे बने पनि त्यसको के नै अर्थ होला र ?


Translation will be uploaded soon!


Please follow me on my Instagram if you haven’t already by Clicking Here!


I have more conversation in my head than I do in my real life.


Thank you for your taking out your time to read my article. This means a lot. Follow @anjaliutters to motivate me more if you haven’t already!!

8 thoughts on “विकास र जनताको साइनो

  1. सुन्धर लेख।। समय सान्दर्भिक प्रश्नहरू याे लेखले समेटेकाे छ। बास्तबमैै याे देश चुकेकाे यहिनेर हाे।।

    Liked by 1 person

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s