नेपाली समाजको कुरुप वास्तविकता – वीररुपा

महिला हिंसाविरुद्धको सशक्त आवाज
शनिबारको दिन मजाले घाममा घरै बसी स्पेस र मण्डला थिएटरको भर्चुअल प्रस्तुति नाटक ‘वीररूपा’ हेरुँला भन्ने लागिरहेको थियो । तर, केही कारणवश शनिबार प्रत्यक्ष नाटक हेर्ने मौका जुरेन । जतिसुकै सुपरहिट भनिएका फिल्म हेरे पनि नाटक हेर्दा जस्तो मजा कुनै पनि फिल्ममा नभेट्ने मलाई प्रत्यक्ष नाटक हेर्न नपाएकोमा निकै थकथकी लागिरहेको थियो । त्यसैले, आज आइतबार उठेर नाटक हेर्न नपाएकोमा खिन्न मन लिएर फेसबुक चलाइरहँदा एक्कासी हिजोको फेसबुक लाइभको भिडियो टाइमलाइनमा आइपुग्यो । भिडियो देख्नासाथ दायाँबायाँ केही नहेरी त्यही भिडियो प्ले गरेर मैले स्पेस र मण्डला थिएटरद्वारा शनिबार भर्चुअल माध्यमबाट मञ्चन गरिएको नाटक ‘वीररुपा’ हेरेँ ।

नाम सुन्दै गर्दा नाटक कस्तो होला भन्ने खासै पूर्वानुमान थिएन । नाटक सुरु हुनुअघि दिइएको छोटो विवरणले नाटकको मुख्य विषयवस्तु बुझ्न सघाउ पुग्यो । अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यसैको सेरोफेरोमा नाटकले पनि महिलाका समस्या र महिलामाथि हुने हिंसाका विषयलाई सङ्क्षेपमा तर गहन रूपमा उठाएको रहेछ । हाम्रो समाजमा परापूर्व कालदेखि अहिलेसम्म देख्दै र चल्दै आएका महिला हिंसा र महिला उत्पीडनका विषयमा केन्द्रित नाटक वीररूपाले साँच्चिकै कतै आफू त्यस्तै घटनाको प्रत्यक्ष साक्षी त भइरहेकी छैन जस्तो पनि महसुस गरायो । नाटकका महिला पात्रले भोगेका पीडा र उनीहरूको समाजको विकृति पाटो देख्दा कति पात्रलाई आफ्नै वरिपरि यताउता भौँतारिरहेको महसुस भयो । समाजमा रहेका हरेक नारीले कुनै न कुनै रूपमा आफ्नो जीवनको कुनै न कुनै मोडमा भोग्नुपर्ने ४ विभिन्न परिवेशका घटनालाई समेटिएको नाटकमा नाटक कम समाजको ज्वलन्त प्रस्तुति बढी देखिन्थ्यो ।

वीररूपा चार विभिन्न महिला पात्रले फरक फरक हिंसा तथा उत्पीडन झेलेको कथा सुनाइएको छ नाटकमा । पहिलो कथामा १७ वर्षीया रुपाको कथा देखाइएको छ । जहाँ सानैमा बेवारिसे छोडी गएको बाउको नाम थाहा नहुँदा आमाका नाममा नागरिकतालगायत सरकारी सेवा लिन दौडधुप गरिरहेकी उसलाई सरकारी अड्डाका कर्मचारीले जाँतेपिङमा घुमाए जस्तै यो कोठाबाट त्यो कोठा, त्यो कोठाबाट ऊ कोठा गर्दै फनफनी घुमाउँछन् । साथमा बाउकै नामसमेत थाहा नभएको भन्दै अपहेलितसमेत गर्न पछि पर्दैनन् । सरकारी कार्यालयको ढिलासुस्ती तथा त्यहाँका कर्मचारीको व्यवहारमाथि नाटकमा व्यङ्ग्य गरिएको छ । साथै, आमाको नामबाट आवश्यक कागजात पुग्दापुग्दै पनि रुपालाई बाउको नाम थाहा नभएको र बाउको कागजात नभएकै कारणले नागरिकता दिइँदैन । आमाको नामबाट नागरिकता लिन सकिनेबारे सरकारले कानुनी व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयनको अवस्था कति झन्झटिलो छ भन्ने विषयमा नाटकले प्रस्ट पारेको छ । बाबुको नामबाट नागरिकता पाउन जति सहज छ, आमाको नामबाट नागरिकता पाउन त्यति नै झन्झटिलो व्यवस्था छ । कानुनमै लेखिएको भए पनि अझै आमाको नामबाट नागरिकता लिन खोज्ने सन्तानलाई जिम्मेवार सरकारी कार्यालयका जिम्मेवार कर्मचारीले नै अर्कै धरतीबाट आएका ‘एलियन’ जस्तो व्यवहार गरिन्छ भन्ने तथ्यलाई नाटकले उजागर गरेको छ । कानुनमै लेखिँदा पनि नागरिकता नपाएको अझ त्यसमाथि एउटी महिला भएर सरकारी कार्यालय धाउँदा बिचौलिया दलाल र कर्मचारीबाटै दुव्र्यवहार भोग्नुपरेको देख्दा मन अमिलो हुन्छ ।

दोस्रो कथामा एक भिन्न किसिमको सोच भएका सचेत मूर्तिकारकी छोरी रुपाको कथा छ । रुपा र उसकै बहिनीले सानैमा आमा गुमाएका छन् । रुपाका पिता पेसाले मूर्तिकार हुन् । उनी भिन्न सोच भएका मान्छे हुन् । तर, त्यही भिन्न सोच र भिन्न सोचसहितको मूर्तिकलाका कारण उनी ‘खराब समय’ मा एक्कासि बेपत्ता हुन्छन् । हजुरआमाले जेनतेन रुपा र उसकी बहिनीलाई हुर्काउँछिन् । सानै उमेरमा घरको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा बोकेकी रुपाले घरमा पुरुष घरमुली नहुँदा एक्ली चेलीले भोग्नुपर्ने पीडा, ऊमाथि गरिने व्यवहार, छरछिमेक, आफन्त तथा अन्य व्यक्तिले आफूमाथि गर्ने उत्पीडनलाई जीवन्त अभिनयमार्फत पस्केकी छिन् । यस्तो कथाव्यथा हामीले समाजमा देखिरहेकै छौँ । जुन घरमा घरमुली महिला हुन्छन्, त्यहाँका महिलाले भोग्नुपर्ने पीडा उनीहरूमाथि गरिने शोषणका फेहरिस्त हामीले हाम्रै घरवरिपरि भेट्छौँ, खोज्न टाढा गइरहनै पर्दैन । जबसम्म समाजका हरेक मानिसको मनबाट हाम्रो समाज पुरुषप्रधान समाज हो भन्ने सोच हट्दैन, तबसम्म कुनै पनि परिवारको मुलीका रूपमा महिलालाई यस समाजले सहज रूपमा पचाउन सक्दैन, उनीहरूमाथि उत्पीडन भई नै रहन्छ, उनीहरूमाथि हिंसाको कहर बर्सिरहन्छ ।

तेस्रो कथामा आशा नाम गरेकी कामको खोजीमा भौँतारिरहेकी एक महिलाको कथाव्यथा समेटिएको छ । महिलाले काम खोज्दै कार्यालयमा अन्तर्वार्ता दिन गएदेखि भोग्नुपर्ने ससाना लैङ्गिक विभेद तथा उनीहरूमाथि कार्यालयमा हुने हिंसालाई आशाको कथामार्फत देखाइएको छ । महिला भएकै कारण अप्ठ्यारा काम गर्न नसक्ने आकलन गरिनु, महिला भएकै कारण एउटै पदमा रहेर पनि पुरुषभन्दा थोरै तलब दिनु जस्ता विभेदजन्य व्यवहारलाई नाटकले देखाएको छ । महिलामाथि गरिने शारीरिक दुव्र्यवहार, महिला भनेर हेप्न खोज्ने प्रवृत्ति, महिला आफूभन्दा अगाडि बढेको देख्न नसक्ने मानसिकता जस्ता पाटालाई आशाको कथामार्फत उठाइएको छ । अहिले जहाँ महिला पनि उच्च शिक्षा हासिल गरेर अगाडि बढिरहेका छन्, त्यहीँ कार्यालय तथा कार्यक्षेत्रमा उनीहरूमाथि लैङ्गिक भेदभाव तथा दुव्र्यवहार पनि बढ्दो छ । महिला आफूभन्दा अगाडि पुगेको देखिनसहने पुरुषको कमी छैन हाम्रो समाजमा । आफ्ना छोरीलाई पढाउनुपर्छ भनेर भन्ने समाजले नै यदि महिलाले पुरुषसरह काम गरे, उनीहरूसरह राति ढिला घर फर्किए, धेरै मान्छेसँग सङ्गत गरे, आफू र अन्य महिलाको हितमा पनि आवाज उठाउन खोजे भने खुट्टा तान्ने प्रवृत्ति समाजमा मौलाएको छ । यही यथार्थलाई आशाको कथामार्फत दर्शकसामु ल्याइएको छ ।

अन्तिममा विजया नाम गरेकी एक स्वाभिमानी तथा राम्रो स्वभाव भएकी महिलाको कथाव्यथालाई देखाइएको छ । आफ्नी श्रीमतीले बाहिर काम गर्दा र उसले अरु पुरुषसँगै हिँडडुल गर्दा श्रीमान्को व्यवहार कस्तो हुन्छ भन्ने तथ्यलाई नाटकको यस भागले उठाएको छ । विदेश गएर फर्किएको, देश, विदेशको समाज देखेको र आफ्नै आग्रहमा पत्नीले जागिर सुरु गरेको अवस्थामा पनि पतिले पत्नीमाथि अनावश्यक शङ्का गर्ने, जागिर छाड्न दबाब दिने र महसूस गरेको कुरा यस कथामा देखाइएको छ । नाटकभरिकै सबैभन्दा मार्मिक कथा विजयाकै कथाव्यथा हो । आफ्नी पत्नीलाई कठपुतली जस्तो ठान्ने आपराधिक सोच बोकेका कैयौँ पुरुषले आफ्नो बसिबसाउ घरपरिवार सामान्य शङ्काको भरमा क्षणभरमा उजाड बनाएको हामीले धेरै देखेसुनेका छौँ । पत्नीलाई केवल घरभित्रै सीमित गर्ने सोच बोकेका पुरुषहरुले कतिसम्म अपराध गर्न सक्छन् भन्ने भयावह पाटोलाई यस कथामा उतारिएको छ । आफ्नो क्षुद्र स्वार्थपूर्तिमा कसैले साथ नदिएको, आफूले भनेको नमानेको या अन्य यस्तै सामान्य कारणमा पनि महिलामाथि एसिड प्रहार गर्ने अपराधीको कमी छैन हाम्रो समाजमा । अझ विजया जस्तै कतिपय महिलामाथि त आफूले सबैभन्दा बढी विश्वास गरेका पतिबाटै एसिड प्रहार भएका घटना पनि सुन्ने गरिएको छ । देशमा एसिड प्रहारलगायत महिलाविरुद्धको हिंसामा संलग्न अपराधीलाई कारबाही गर्न निकै कडाकडा कानुन बनेका पनि छन् । तर, जतिसुकै कडा कानुन बने पनि पुरुषवादी सोचमा परिवर्तन नभएसम्म महिलामाथि हिंसा भइरहने र यसलाई सजिलै कम गर्न नसकिने सामाजिक पाटोमाथि नाटकले प्रकाश छरेको छ ।

लगभग १ घन्टा लामो नाटकले हाम्रै समाजको कथाव्यथा बोकेको हुनाले पनि मलाई कुनै नाटक हेरिरहेको अनुभूति भएन । आफ्नै समाजको कुरुप अनुहार हेरिरहेको अनुभूत भयो । हाम्रो समाजमा रुपा, आशा या विजयाजस्ता पात्रको कुनै कमी छैन । उनीहरूले भोगेका उत्पीडन या हिंसाका घटना पनि नौला छैनन् । हाम्रो समाजमा निर्मला पन्त, अङ्गिरा पासी या मुस्कान खातुन जस्ता दिदीबहिनी धेरै छन् । तिनै पीडितको कथाव्यथालाई सङ्क्षेपमा उठान गरेर नाटक वीररूपाले त्यसको उपचारका हामी सबैलाई घचघच्याएको छ ।

जसरी वीररूपाका हरेक पात्र, चाहे आशा होस्, चाहे रुपा होस् चाहे विजया नै किन नहोस्, जतिसुकै उत्पीडन सहेर पनि अन्त्यमा आफूले हार नमान्ने, आफू लडिरहने निर्णय गर्छन्, त्यसरी नै आज हरेक पुरुषले पनि आफूले जीवनमा कहिल्यै महिला हिंसा नगर्ने, महिलालाई अघि बढ्न सघाउने र उनीहरूको प्रगतिपथमा कहिल्यै काँडा नबन्ने प्रण गर्न सक्नुपर्छ । आज छोरा जन्मिँदा विशेष उत्सव नै मनाउने हाम्रो पितृसत्तात्मक समाजका हरेक सदस्यले उसलाई महिलाको भावनालाई सम्मान गर्न, ऊसँग काँधमा काँध मिलाएर अघि बढ्न र महिलामाथि कहिल्यै कुनै हिंसा नगर्न सिकाउन ढिलो भइसकेको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको समयमा भर्चुअल विधिबाट स्पेस र मण्डला थिएटरको प्रस्तुति ‘वीररूपा’ सन्देश पनि यही नै हो ।

म पनि एक नारी हुँ, नारी भएकोले नै नाटकमा देखाए सरहका समस्या मेरा जीवनमा नी आउँछन्, हरेक नारीको जीवनमा आउँछ। तर यी सबै बिकृति कुरूपता बिरूद्ध हामी आफैँ नै आफ्नो शक्ति बनेर लड्नु पर्छ। ताकि भाेलिकाे पिंढीले यस्ता दिन कदापि भाेग्न नपराेस। नाटकले देखाउन खाेजेकाे बाटाे सरि संघर्षको लागि म त तयार छु। तपाईं नि?


To watch the awesome drama Click Here!


Human Rights are Women’s Right, Women’s Right are Human Rights!

-Hilary Clinton

Thank you for your taking out your time to read my article. This means a lot. Follow @anjaliutters to motivate me more if you haven’t already!!

14 thoughts on “नेपाली समाजको कुरुप वास्तविकता – वीररुपा

    • This is about a stage drama name BirRupa, A drama which is based on women voilence and is done and the context of 16 days of Activism. This drama was mostly based on how women are treated in work environment, family, how a women have to deal on their own in the society and how male ego affects the women. I just wrote about that in article. Thankyou for trying to know more about what I wrote! Means a lot! ❤️

      Liked by 1 person

  1. Beautiful writing, the way women are nonetheless treated with impudence and incivility is unacceptable and heart-wrenching. To face the society beneath finding their own ground is one callous combat.

    By the way, just wanted to let you know that me and my friend nominated you for the BLOGGER RECOGNITION AWARD on our latest post. Hope you reply 😊💝.

    Liked by 2 people

  2. Pingback: 500 followers!!!! || Blogger Recommendations Part 1 – Storytime with Shivani

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s